(१) आयोगले निर्वाचनको काम सञ्चालन गर्नका लागि कुनै जग्गा, भवन वा भौतिक साधन प्रयोग गर्नुपर्ने भएमा त्यस्तो जग्गा, भवन वा भौतिक साधन प्रयोग गर्न ऐनको दफा ८ को उपदफा (१) वा (२) बमोजिम सम्बन्धित संस्था, तह, निकाय वा व्यक्तिलाई त्यसको विवरण र प्रयोग गर्ने अवधि समेत खुलाई पूर्व सूचना दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त भएपछि सम्बन्धित संस्था, तह, निकाय वा व्यक्तिले आयोगलाई आवश्यक पर्ने जग्गा, भवन वा भौतिक साधन प्रयोग गर्न दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम जग्गा, भवन वा भौतिक साधन प्रयोग गर्नु अघि सम्बन्धित अधिकारीले त्यस्तो जग्गा, भवन वा भौतिक साधनको परीक्षण गरी कुनै कैफियत देखिएमा सो समेत खुलाई विवरण तयार गरी सोको एकप्रति सम्बन्धित संस्था, तह, निकाय वा व्यक्तिलाई दिई अर्कोप्रति आफूले राख्नु पर्नेछ ।
(४) यस नियम बमोजिम निर्वाचनको कामको लागि कुनै व्यक्ति वा गैरसरकारी संस्था वा निकायको जग्गा, भवन, परिवहनको साधन, फर्निचर वा अन्य भौतिक साधन प्रयोग गरे बापत जिल्ला दररेट समितिले निर्धारण गरेको दर अनुसारको रकम आयोगले सम्बन्धित व्यक्ति वा गैरसरकारी संस्था वा निकायलाई उपलब्ध गराउनेछ ।
(५) यस नियम बमोजिम निर्वाचनको कामको लागि प्रयोग गरेको जग्गा, भवन, परिवहनको साधन, फर्निचर वा अन्य भौतिक साधन टुटफुट, नोक्सान वा क्षति भई मर्मत गर्नु परेमा वा सो बापत क्षतिपूर्ति दिनुपर्ने भएमा त्यस्तो मर्मत गर्न लाग्ने वा लागेको रकम वा क्षतिपूर्ति वापतको रकम मूल्यांङ्कन गरी सिफारिस गर्न देहाय बमोजिमको समिति गठन गरी उक्त समितिको सिफारिसमा आयोगले सम्बन्धित संस्था, तह, निकाय वा व्यक्तिलाई त्यस्तो रकम उपलब्ध गराउनेछ ः–
(क) प्रमुख जिल्ला अधिकारी –संयोजक
(ख) जिल्ला प्राविधिक कार्यालयको प्रमुख –सदस्य
(ग) निर्वाचन अधिकारी –सदस्य
(६) उपदफा (५) बमोजिमको समितिले त्यस्तो रकम मूल्यांकन गर्दा त्यसरी टुटफुट, नोक्सान वा क्षति भएको भौतिक साधनको स्वामित्व प्राप्त संस्था, तह, निकाय वा व्यक्तिको प्रतिनिधिलाई आमन्त्रण गर्नु पर्नेछ ।
(७) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि निर्वाचनको काममा आयोगले प्रयोग गर्नु अघि नै टुटफुट, नोक्सान वा क्षति भएको भौतिक साधनको मर्मत वा क्षतिपूर्ति बापत आयोगले कुनै रकम उपलब्ध गराउने छैन ।